प्रधानमन्त्री ओलीकाे भियतनाम र कम्बोडिया भ्रमण : पत्नी राधिकासहित ४२ जनाकाे टाेली जाने

रिपोर्ट नेपाल | 2019 May 08 | 03:56 pm 1293

काठमाडौं, वैशाख २५ :  प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि (बिहीबार)बाट दक्षिणपूर्वी एशियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन् ।  धानमन्त्री  ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्कँदै छन् ।

प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा. राजन भट्टराईले यही वैशाख २६ देखि जेठ १ गतेसम्म प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल हुने बताए । परराष्ट्र अधिकारीका अनुसार बिहीबार अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्ने प्रधानमन्त्री ओली सुरुवातको चारदिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन्।

यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा.दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल समेत भ्रमण दलमा छन्।

प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सह-सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहित भ्रमण टोलीमा छन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत जाँदैछन्।

डा. भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रित हुने बताए । उनले दक्षिण पूर्वी एसियाको उदाउँदो राष्ट्र भियतनामको भ्रमणबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे ।

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापारका बारेमा पनि कुराकानी हुने जानकारी दिँदै उनले दुई मुलुकबिच सांस्कृतिक आदान–प्रदान हुने बताए । डा. भट्टराईले बहुसङ्ख्यक भियतनामी जनता बुद्ध धर्म मान्ने भएकाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भियतनामी बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

भियतनाममा यही वैशाख २९ गते वैशाख दिवस मनाउने उक्त दिन अन्तर्राष्ट्रिय सम्मेलनको समेत आयोजना गरिएकाले त्यसमा नेपालका प्रधानमन्त्री ओलीले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

उक्त सम्मेलनमा भारतीय उपराष्ट्रपति तथा मलेसियाका प्रधानमन्त्रीलगायत विभिन्न देशका उच्चपदस्थ व्यक्ति आउने कार्यक्रम छ । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उनले बताए ।

पूर्वराजदूत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण ती मुलुकबीच संस्कृति तथा कूटनीतिक विस्तार गर्न अर्थपूर्ण रहेको बताए । सिम्खडाले भियतनाम र कम्बोडिया दुवै उच्चस्तरको आर्थिक वृद्धि दर हासिल गरेका मुलुक भएकाले नेपालले ती मुलुकबाट लाभ लिनुपर्ने बताए ।

बुद्धजयन्तीका अवसर पारेर भियतनाममा हुने वैशाख सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र उनको सम्बोधन गर्ने कुरा राम्रो पक्ष भएको बताए तर ओली भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमा आमसहमति हुनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले दुवै देशसँग नेपालको ऐतिहासिक तथा पुरानो सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । बुद्धजयन्तीका अवसर पारेर वैशाख डेमा प्रधानमन्त्रीले मुख्य वक्ताका रुपमा बोल्ने कार्यक्रम रहेकाले उक्त सम्मेलनमार्फत ग्लोबल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न पनि ‘माइल–स्टोन’ हुने श्रेष्ठको भनाइ थियो । श्रेष्ठले भियतनामले वाटरवेज र रेलवेजमा धेरै ठूलो विकास गरेको बताउँदै प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँनयाँ सम्भावनाको द्वार खोल्ने अवसर प्राप्त हुने धारणा व्यक्त गरे ।

सम्मेलनमा विभिन्न देशका उच्चपदस्थ व्यक्तिलगायत तथा नेपालसहित विश्वका विभिन्न मुलुकका बौद्ध भिक्षुहरु ठूलो सङ्ख्यामा आउने कार्यक्रम छ । सन् १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । असंलग्न मुलुक कम्बोडिया नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक हो ।

भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन् । भियतनाम होचिमिन्हको पालादेखि नै नेपाली जनताको सम्बन्ध भएको मुलुक हो । भियतनाम तथा कम्बोडियाको लामो सङ्घर्षको इतिहास जोडिएको छ । संयुक्त राष्ट्र सङ्घले वैशाख दिवस मनाउने घोषणा गरेअनुरुप भियतनाममा यस वर्ष वैशाख डे सम्मेलन हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.