काठमाडौं, वैशाख २५: राप्ती नगरपालिकाले सडक निर्माण, सिँचाइजस्ता विकास निर्माणलाई तीव्रता दिइरहेको छ । तर, नगरपालिकाले गरेको विकास निर्माणका योजनामा त्रुटि नै त्रुटि छन् । नगरपालिकाले बनाएको सडक देखेर यात्रु नै व्यंग्य गर्छन् । पूर्व–पश्चिम राजमार्गआसपासका यी शाखा सडक नागबेली मात्र छैनन्, बीचमा बिजुलीका पोल ठडिएका छन् । समथरस्थलमा सीधा सडक बन्न सक्ने भए पनि उपभोक्ता खुसी पार्न नगरपालिकाले घुमाउरो सडक बनाएको हो ।
नगर क्षेत्रका केही सडकमा पिचको सट्टामा कंक्रिट ढलान गरिएको छ । अलकत्रा पिचभन्दा महँगो भए पनि लामो समयसम्म नबिग्रने भएकाले ढलान गरेको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले बताए । डुबानमा पर्ने र पानी जम्ने समस्याका कारण पनि ढलान गरेको उपप्रमुख लामाले बताए ।
‘२० देखि २५ प्रतिशत खर्च बढी लाग्ने रैछ,’ उनले भने, ‘जनअपेक्षाअनुसार नै पिचको साटो ढलान गरिएको हो ।’ वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीले भने बजेट कम पर्ने, तर थोरै बजेटमा धेरै काम गर्नुपर्दा समस्या हुने गरेको बताए । वडाध्यक्ष सुमिता डल्लाकोटीले कम बजेटमा धेरै काम गर्नुपर्दा समस्या भएको बताइन् ।
विकास अनुगमन
राप्ती नगरपालिका क्षेत्रमा भइरहेका विकास निर्माणको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको नेतृत्वको टोलीले आइतबार अनुगमन गरेको छ । विकास निर्माणबारे उपप्रमुख इमानसिंह लामाले जानकारी गराएका थिए । सो क्रममा डल्लाकोटीले बजेटअनुसार योजना आइतबार सम्पन्न गर्न र जनताको सहभागिता सुनिश्चित गराउन निर्देशन दिए । जनताको अपेक्षाअनुसार प्राथमिकता निर्धारण गरी योजना छनोट र बजेट विनियोजन गर्नुपर्ने उनको भनाइ छ । नयाँ पत्रिकाबाट