काठमाडौं, वैशाख २४ : युइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति बार्सिलोना र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। बार्सा र लिभरपुलबीच सेमिफाइनल दोस्रो लेगमा भिडन्त हुन लागेको हो। अर्थात् आज च्याम्पियन्स लिग फाइनलमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ।
खेल नेपाली समयअनुसार आजराति पौने १ बजे लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि ३–० को अग्रता लिइसकेको छ। आज लिभरपुलले बार्साविरुद्ध ४–० को जित निकाल्नै पर्ने अवस्था छ।
तर लिभरपुलबाट दुई स्टार फरवार्ड मोहम्मद सलाह र रोवार्टो फिर्मिनो उपस्थित हुने छैनन्। उनीहरु घाइते भएकाले खेलमा उपस्थित नुहने क्लबले जानकारी दिइसकेको छ।
यस्तो अवस्थामा बार्सा लगभग फाइनल पुग्ने अनुमान गरिएको छ। तर फुटबल खेल अप्रत्याशित भएको हुनाले नतिजा जे पनि हुनसक्ने विश्लेषकहरु बताउँछन्। यद्यपी मेस्सी, स्वारेज, कोटिन्हो, राकिटिकजस्ता स्टार खेलाडी समावेश बार्सालाई ४–० ले जितेर खेल उल्टाउनु लिभरपुलको लागि आजको मुख्य चुनौती हो।
आज बार्साले एकमात्र गोल गरे ठूलो दबाबमा रहेको लिभरपुलमाथि झन दबाब सृजना हुनेछ। यस्तो अवस्थामा बार्साविरुद्धको खेल जित्नु भनेको लिभरपुलको लागि फलामको चिउरा चपाउनु सरह हुनेछ।