जनता आवास पूनर्निर्माण कार्यक्रम शुभारम्भ

रिपोर्ट नेपाल | 2019 May 04 | 04:22 pm 1880

काठमाडौं, वैशाख २१: नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा जनता आवास कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर निर्माण गर्ने भएको छ ।

उक्त कामको योजना अनुरुप वैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ति तयारीका साथ तैनाथ रहेकोमा २१ गते शनिबारबाट औपचारिक रुपमा उपप्रधान एवं रक्षामन्त्री श्री ईश्वर पोखरेल, मन्त्रीगण लगायत प्रदेश नम्बर २ का मुख्यमन्त्री श्री लालबाबु राउतबाट शिलान्यास भई शुभारम्भ गरिएको छ ।

जनता आवास कार्यक्रमको क्रममा फेटा गाउँपालिका ६ पुरैनियामा उपप्रधान एवं रक्षामन्त्री पोखरेलले, परवानीपुर ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले,

 

प्रसौनी गाउँपालिका ४ खटुवाजग्दीमा गृहमन्त्री राम बहादुर थापाले, वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले, सुवर्ण गाउँपालिका ४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले, पचरौता नगरपालिका ७ बेनौलीमा संघिय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले, फेटा गाउँपालिका ४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले, वीरगञ्ज महानगरपालिका ५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री बिना मगरले, फेटा गाउँपालिका ४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका ७ तेलगाईमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा कुमारी अर्यालले, कलैया उपमहानगरपालिका १३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका ७ रामपुर्वामा प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले नवनिर्माणाधीन घरहरुको शिलान्यास गरेका थिए ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १ हजार ३ सय ६२ घर गरी जम्मा १ हजार ४ सय ५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरहरुलगायत हाल २ हजार ३ सय ३२ जना दक्ष जनशक्ति परिचालित भईरहेका छन्।

तीन चरणमा सम्पन्न गरिने उक्त जनता आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा ४ सय ८२ घरहरु जेष्ठ २६ गते भित्र, दोस्रो चरणमा ४ सय ८२ घरहरु आषाढ २८ गते भित्र र तेस्रो चरणमा ४ सय ८९ घरहरु श्रावण ३० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

उक्त निर्माणाधिन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानिय स्तरमा पूनर्स्थापना तथा घर पूनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन गरिएको छ ।

शुभारम्भको क्रममा उपप्रधान एवं रक्षामन्त्री श्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए। सोही अवसरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको जनाए । कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै बलाध्यक्ष रथी गौरव तण्डुलले स्वागत मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.