एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोको गोलसँग बराबरी गरे

रिपोर्ट नेपाल | 2019 May 02 | 04:35 pm 1658

काठमाडौं, वैशाख १९ : बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले ६ सय क्लब गोल पुरा गरेका छन्। बुधबार राति च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध २ गोल गरेसँगै मेस्सीले ६ सय क्लब गोल पुरा गरेका हुन्।

यससँगै मेस्सीले क्रिस्टियानो रोनाल्डोको क्लब गोल संख्यासँग बराबरी गरेका छन्। मेस्सीले ६ सय ८३ खेलमा ६ सय गोलगर्दा रोनाल्डोले भने ८ सय ३ खेलमा ६ सय गोल गरेका हुन्।

अर्थात् मेस्सीले १ सय २० क्लब खेल कम खेलेर रोनाल्डकोको क्लब गोलसँग बराबरी गरेका हुन्। हाल दुवैको क्लब करियरमा समान ६–६ सय गोल भएको छ। उनीहरु कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धामा अझै छन्।

मेस्सीले बार्सिलोनामा पहिलो गोल गरेको ठिक १४ वर्षपछि सोहि मितिमा आफ्नो ६ सय गोल पुरा गरेका हुन्। मेस्सीले सन् २००५ मे १ तारिखमा बार्साबाट पहिलो गोल गरेका थिए।

मेस्सीले ६ सय क्लब गोलको कोशे ढुंगा पुरागर्दा फुटबल क्लब बार्सिलोनाले समेत च्याम्पियन्स लिगमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ।

बुधबार राति लुइस स्वारेजले बार्साको लागि पहिलो गोल गरेका थिए। गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको हो। झन मेस्सीले २ गोल थपेपछि बार्साले च्याम्पियन्स लिगमा ५ सय २ गोल गरेको छ।

यसअघि रियल मड्रिडले मात्र च्याम्पियन्स लिगमा ५ सय गोल पुरा गरेको थियो। रियल मड्रिडको ५ सय ५१ गोल छ। बार्साले ५ सय च्याम्पियन्स लिग गोल पुरागर्दा मेस्सीले १ सय १० गोलको योगदान दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.