धनकुटा तोकियो प्रदेश-१ को ‘सम्पर्क राजधानी’

रिपोर्ट नेपाल | 2019 Apr 30 | 06:18 pm 2068

विराटनगर, वैशाख १७ : प्रदेश–नम्बर १ को नाम र स्थायी राजधानी चाँडो तोक्न माग बढिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाएको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरी निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिएका छन् । धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।

संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो । त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवारदेखि बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.