काठमाडौं, वैशाख १५ : स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सीले लिग ला लिगामा नयाँ कीर्तिमानी बनाएका छन् । बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगा च्याम्पियन बनेसँगै मेस्सीले नयाँ कीर्तिमानी बनाएका हुन् ।
नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको ३५ औंको खेलमा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले हराउँदै जारी सिजनको लिग जित्यो । बार्सिलोनाले २६औं पटक लिग उपाधि जित्दा अर्जेन्टिनी मेस्सीले भने व्यक्तिगत रूपमा १०औं पटक ला लिगा जिते । लिग जितेपछि मेस्सी क्लबको इतिहासमा सर्वाधिक धेरै लिग जित्ने खेलाडी बनेका हुन् ।
बार्सिलोनाबाट खेलेका कुनै पनि खेलाडीले १० पटक ला लिगा जितेको यो पहिलोपटक हो । यसअघि कुनै पनि खेलाडीले १० पटक ला लिगा जितेका थिएनन् । बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिएस्टा ९ पटक ला लिगा जितेका थिए । मेस्सीले बार्सिलोनाका लागि हालसम्म खेलेका खेलमध्ये ३ सय ७७ खेलमा जित निकालेका छन् ।
ला लिगामा रियल मड्रिडका पूर्वखेलाडीले भने १० भन्दा बढीपटक ला लिगा जितेका छन् । पाको गेन्टोले १२ पटक ला लिगा जितेका थिए ।
बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं हो भने समग्रमा २६औं उपाधि हो । ला लिगा सर्वाधिक धेरै रियल मड्रिडले ३३ पटक जितेको छ ।