काठमाडौं, वैशाख १५ : किरात राई जातिमा रहेका विद्यार्थीहरुको छाता संगठन किरात राई विद्यार्थीको ९औं राष्ट्रिय सम्मेलन हुने भएको छ । खोटाङ जिल्लाको दिक्तेल बजारमा आगामी वैशाख २६ देखि २८ गतेसम्म हुने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्ने आयोजकले बताएका छन् ।

राष्ट्रिय सम्मेलनको तयारी स्वरुप किरात राई यायोक्खा खोटाङले दिक्तेलबजारमा भित्ते लेखन र व्यानर टाँग्ने कामलाई तीव्रता दिएको छ । हाँटडाँडा, त्रिबेणीचोकमा व्यानर टाँगिएको तथा भवनगैरा, रत्नपार्कमा क्रमशः व्यानर टाँग्ने काम भइरहेको छ । काठमाडौं उपत्याकामा पनि भित्ते लेखन र व्यानर टाँग्ने कामलाई तीव्रता दिइएको छ ।
पहिचान सहितको संघिय शिक्षा प्रणाली लागू गरौं–किरात स्वयत्त राज्य निर्माणका लागि गाउँ नगर लागौं भन्ने मूल नाराका साथ सम्पन्न हुने सम्मेलनको उद्घाटन दित्तलेल बजारको हेलीप्याडमा बिहान ११ बजे हुनेछ भने बन्द सत्र शुभम फाउण्डेशनमा हुने आयोजकले जनाएका छन् ।

सम्मेलनको बन्द सत्रमा किरात राई विद्यार्थी संघले आफ्नो समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र अधिकार अस्तित्व स्थापनाका लागि सबै राई विद्यार्थीलाई गोलन्द गर्ने विषयमा छलफल हुने आयोजकको भनाई रहेको छ ।
संघले आफ्नो जातिको मात्र नभई आदिवासि जनजाति, दलित, महिला, मधेसी, मुस्लिम तथा अल्पसंख्यकहरु माथिको भाषिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विभेदको विरुद्ध सशक्त आवाज उठाउँदै आएको संघद्वारा सार्वजनिक गरिएको अपिलमा जनाइएको छ ।

किरात राई विद्यार्थी संघकोआठौं राष्ट्रिय सम्मेलन ०७३ मंसिर २७, २८ र २९ गते इलाममा सम्पन्न भएकाे थियाे । आठौं राष्ट्रिय सम्मेलनबाट विर्सिका राई अध्यक्षमा निर्वाचित भएकी थिइन् ।