मोरङ, वैशाख १० : मोरङको पथरी शनिश्चरेमा ७ वैशाखमा मृत फेला परेकी रिना बस्नेतको मृत्युको विषयलाई लिएर आन्दोलित बनेको स्थानीय र प्रहरीबीच पटक पटक झडप भइरहेको छ ।
प्रहरीको लाठी चार्ज र अश्रुग्यास प्रहारबाट दुई जना स्थानीय घाइते भएका छन् । एक महिला र एक पुरुष घाइते भएका हुन् । घाइतेहरुको स्थानीय मेडिकल क्लिनिकमा उपचार भइरहेको छ ।
नगरपालिकाकी उपप्रमुख यमुना बास्तोला बाहिर निस्किएकी छन् । स्थानीयहरु आन्लोदन गरिरहेका छन्, भने प्रहरीले बेलाबेलामा अश्रुग्यास प्रहार गरिरहेको छ ।
रिनाको मृत्युबारे सत्यतथ्य छानविन र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलित बनेको स्थानीयले राजमार्ग बन्द गराउनुको साथै नगरपालिकाको कार्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलित भीड तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाई फायर समेत गरेको छ ।
स्थानीयले विरोध गर्न छाडेका छैनन् भने प्रहरीले पनि अवस्था नियन्त्रणमा लिन बेलाबेला हवाइ फायर गरिरहेको छ । प्रहरीले रिनाको मृत्यु लडेर भएको प्रारभिक अनुसन्धानबाट देखिएको भनेपछि स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले मृत्य नभई रिनाको हत्या भएको दाबी गर्दै आएको छ ।