प्रधानमन्त्री देउवाले शिलन्यास गरेको सुनकोसी पुलमा पिलरसमेत गाडिएन

| 2019 Apr 19 | 01:08 pm 1815

उदयपुर, वैशाख ६ : प्रधानमन्त्री भएको बेलामा शेरबहादुर देउवाले शिलान्यस गरेको पुल पदबाट हटेसँगै कामले पनि विश्राम लिएको छ । ०७४ भदौ ३१ गते उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माण गर्नको लागि शिलान्यास गरेका थिए।

उक्त पुलले उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने सुनकोसीको नदीको पुल हो। पुल निर्माणका लागि शिलान्यास गरेको डेढ वर्ष बितिसक्दा ५ प्रतिशत कामसमेत भएको छैन। स्थानीयका अनुसार २३ करोड रुपैयाँ बराबरको लागतमा ०७६ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी रसुवा एसएन एस र पप्पु ज्वाइन्ट भेन्चरले निर्माण कार्यको ठेक्का लिएको पुलको कामले पूर्णता लिन नसकेको बताए ।

ठेक्का लिएको कम्पनीले हालसम्म उदयपुरतर्फको रानीटारमा पिलरका लागि एउटा खाडल खनेको बाहेक कुनै काम नगरेको स्थानीय रामबहादुर मगरले बताए। निर्माण सुरु गरेको ठेकेदार कम्पनीले एउटा खाल्डो पनि पूरा नगरी निर्माण सामग्रीसमेत लिएर हिँडेको अहिले निर्माण स्थलमा एउटा जेनेटरमात्रै भएको जनाए । शिलान्यासको क्रममा मन्तव्य दिँदा देउवाले पुल चाँडै निर्माण हुने ठोकुवा समेत गरेका थिए ।

निर्माणको ठेक्का लिएको कम्पनीको लापारबाहीले पुल निर्माण अलपत्र परेको अर्को स्थानीय रत्न तामाङले बताए । उक्त पुल भएर आउँने उदयपुर–भोजपुर दुवैतर्फको सडक निर्माण भइसकेको छ । चौडण्डीगढी नगरपालिका १ का वडाध्यक्ष रोहित तामाङका अनुसार सडक तयार भए पनि पुल नहुँदा भोजपुरका सार्वसाधारणले दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानी र आवतजावतमा समस्या झेल्दै आएको बताए । पुल निर्माण नहुँदा पश्चिमी भोजपुरको आमचोक र खोटाङको जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारणले बढी सास्ती खेप्नुपरको स्थानीय बताउँछन्।

पुल निर्माणका लागि तयार गरिएको पिलर गाड्ने जमिनमुनि कडा चट्टान निस्केका कारण ढिलाइ भएको सडक विभाग पुल आयोजना पूर्वी सेक्टर कार्यालय धरानका प्रमुख इन्जिनियर कैलाश साहले बताए।

कैलाश साहका अनुसार पहिलेको डिजाइनमा पुल बन्न नसक्ने भएकाले पुनः अर्को डिजाइन गर्नुपर्ने जानकारी दिए । नयाँ डिजाइन बनेर आइएपछि विभागमा स्वीकृत गरी काम सुरु गर्ने बताए ।

अहिले सडक भएर पनि सिधा यातयात संचालन नुहँदा समस्या परेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.