सर्लाही, वैशाख १ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ मा बा ३ ख १३१८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन्।
उक्त दुर्घटनामा परी मृत्यु हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नगरपालिका ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई प्रहरीले अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बस रिजर्भ गरी घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन्। बस तीब्र गति र चालकको लापरबाहीले दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार शाहीले बताए।
घाइतेमध्ये ४ जना अवस्था गम्भीर रहेको शाहीले बताए। उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए।