सिराहा, चैत्र २६ : उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीलाई बदनाम गर्ने जनप्रतिनिधिलाई सरकारले हतकडी लगाउनुपर्ने बताएका छन् । सिराहाको लहानमा सोमबार आयोजित व्यापारिक महोत्सव मेलाको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधिहरूले अब पार्टीले संरक्षणको नगर्ने बताए ।
नेकपा केही जनप्रतिनिधिहरू भ्रष्टाचारमा मुछिएको घटना सार्वजनिक भएसँगै यस किसिमको प्रवृत्तिले पार्टीलाई बदनाम गरिरहेको उनले बताए । उनले यस्ता जनप्रतिनिधिहरूलाई हतकडी लगाएर उदांगो पार्दै जाने स्पष्ट पारे ।
उनले कार्यक्रममा वर्तमान सरकारले देशमा विकास निर्माणको जग खडा गरेको र बिस्तारै निर्माणको गति बढाउने बेलामा जनप्रतिनिधिहरू भ्रष्टाचारमा मुछिएको खबर बाहिरिनुले सरकारलाई अन्य पक्षले दोष थोपर्न मद्दत मिलेको बताए ।
फरक प्रसंगमा मधेसी तथा मैथिली दुवै भाषामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले छिमेकी राष्ट्र भारतमा अन्य देशबाट विवाह गरेर ल्याइएका महिलालाई ७ वर्ष पछि मात्र नागरिकता दिने चलन रहेको तर नेपालमा भने विवाह गरेर ल्याउने बित्तिकै नागरिकता कसरी दिन सकिन्छ भन्दै प्रतिप्रश्न गरे । उनले भने, “अब नागरिकतालाई राजनीतिक विषय बन्न दिइँदैन । ‘
उनले एक अर्काकाे सांस्कृतिकलाई सम्मान गर्नुपर्ने पनि बताए । ‘यो देश बहुजाती,बहुभेष भाषीको देश हो । त्यसैले यहाँ धोतीले दौरा-सुरुवाल र दौरा-सुरुवालले धोतीलाई हेप्न पाइँदैन ।’ उनले भने, ‘सांस्कृतिक विभिदताले भरिएको यो सुन्दर देशमा सबैको संस्कृति ,भेषभुषा,संस्कार र भाषाभाषीलाई सम्मान गर्नुपर्छ अनि मात्रै यो देशमा विकास र अधिकार सबल हुन्छ ।’