खतनाले लियो एक नाबालकको ज्यान

रिपोर्ट नेपाल | 2019 Apr 09 | 11:54 am 1966

महोत्तरी, चैत्र २६ : लोहारपट्टी नगरपालिकामा एक मुस्लिम परिवारले मुस्लिम परम्परा अनुसार खतना (लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने काम) गर्दा एक नाबालकको मृत्यु भएको छ ।

उनीहरुले सोमबार राति लोहारपट्टि नगरपालिका–५ का आशिक शेषका दुईमहिने छोरा फिरोज शेषको खतना गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

इस्लाम धर्मका परम्परा अनुसार नाबालक शेषको गए राति खतना गरिएपछि अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

छोरा जन्मेको खुसीयालिमा परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा पुर्याएका नाबालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

मुस्लिम समुदायमा खतना अनिवार्य मानिन्छ । खतना नगरेसम्म कुनै पनि मानिस मुस्लिम भएको मानिदैँन । तर, यस्तो अप्रिय घटना ननिम्तियोस समुदाय प्रति सजग रहन अपिल गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.