हावाहुरीका कारण केराखेतीमा करोडौंको क्षति

रिपोर्ट नेपाल | 2019 Apr 09 | 06:56 am 2322

कैलाली, चैत्र २६ :  टिकापुरको सुदूरपूर्वी क्षेत्रमा आएको हावाहुरीले केराखेतीमा करोडौं क्षति गरको छ। हावाहुरीका कारण लाखौं केराका बिरुवा ढलेर नष्ट भएका छन्।

कैलाली केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अनुसार शनिबार आएको हावाहुरीले झण्डै ५० प्रतिशत केराबारी नष्ट भएको छ। संघका उपाध्यक्ष टेकेन्द्र धामीले यस क्षेत्रका केरा बारीमा ३० प्रतिशत बोट ढलेका र २० प्रतिशतभन्दा बढी बोट काम नलाग्ने अवस्थामा पुगेको बताए।

शुभम् एग्रो फार्मका सञ्चालकसमेत रहेका धामीका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्र पाँच सय हेक्टरमा केराखेती हुँदै आएको छ। धामीसहित किसान देवीराम कोइराला, मोहन जैशी, दीपेन्द्र चौधरी, रामबहादुर कुँवर, विनोद साहलगायत अधिकांश किसानको केराका बोट ढलेका छन्।

१२ बिघा जमिनमा केराखेती गर्दै आएका धामीले सञ्चालनमा ल्याएको टिस्युकल्चर बेर्नाको भण्डारगृहमा समेत क्षति पुगेको छ। भण्डारण गृह भत्किएपछि केराको बेर्ना राख्न समस्या भएको छ।

‘केराको बेर्ना ल्याउने समयमा भण्डारण गृह भत्कियो, ग्रिन हाउसका लागि आवश्यक सामानसमेत यहाँ पाइँदैन, ठूलो नोक्सानी व्यहोर्नुपरेको छ’, धामीले भने, ‘केराको बेर्ना ल्याएर कहाँ राख्ने भन्ने समस्या छ।’ धामीले भारतबाट केराको बेर्ना ल्याएर केही समय भण्डारण गरेपछि किसानलाई बेच्दै आएका छन्।

केरा फल्ने समयमा आएको हावाहुरीले किसानलाई ठूलो नोक्सानी भएको अर्का किसान देवीराम कोइरालाले बताए। ‘केरा फल्न तयार भएको बिरुवा ढल्यो, अब हामीले फेरि नौ महिनासम्म अर्को बिरुवा हुर्काउनुपर्छ’, उनले भने, ‘केरा किसानलाई ठूलो नोक्सानी भएको छ।’

कोइरालाले टीकापुर नगरपालिका–७ वैदीमा लगाएको ६ बिघा केराखेतीका अधिकांश बोट हावाहुरीले ढलेर कामै नलाग्ने भएका छन्। हावाहुरीका कारण २२ बिघामा केराखेती गर्दै आएका टीकापुरका दीपेन्द्र चौधरीले आफ्नो बारीमा समेत ५५ प्रतिशत बढी केराका बोट नष्ट भएको बताए।

उनले बारीको ३५ प्रतिशत केराका बोट पूरै ढलेको र झण्डै २० बोट कामै नलाग्ने गरी बिग्रिएको बताए। ‘३५ प्रतिशत त देखिने गरी क्षति भएको मात्रै हो’, चौधरीले भने, ‘केराको बोट हल्लिएपछि त्यसले घाडी थाम्न सक्दैन र हल्लिएको बोट नोक्सान नै हुनाले आधाभन्दा बढी केराको बोट नष्ट भएका छन्।’

टीकापुरमा झण्डै एक सयभन्दा बढी केरा किसान छन्। उनीहरूमध्ये धेरैजसो युवा केराखेती गर्दै आएका छन्। राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले केराखेतीमा अनुदान दिन थालेपछि युवाको आकर्षण बढ्दै गएको हो। युवाको सक्रियतापछि यस क्षेत्रमा केराखेतीको सम्भावना बढ्दै गएको छ। टीकापुरलाई देशभर ‘बनना हब’ का नामले समेत चिनिन थालेको छ। हावाहुरीले केराखेती नष्ट गरेपछि भने किसान निराश छन्।

अधिकांश केरा किसानले केराबारीको बिमा गरेका छैनन्। कैलाली केरा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष दीपेन्द्र चौधरीले बिमा प्रक्रिया निकै झन्झटिलो भएकाले अधिकांश किसानले बिमा नगरेको बताए।

केरा किसान बैंकको ब्याज कसरी तिर्ने भन्ने समस्याले चिन्तित छन्। उनीहरूमध्ये सबैले वित्तीय संस्थाबाट ऋण लिएर केराखेती गर्दै आएका छन्। अधिकांशले केराखेतीका लागि जग्गासमेत भाडामा लिएका छन्।

‘अघिल्ला वर्षको तुलनामा केराको उत्पादन निकै घट्ने देखिन्छ’, अध्यक्ष चौधरीले भने, ‘हावाहुरीले निकै ठूलो समस्या उत्पन्न गरिदिएको छ।’ हावाहुरीले केराखेतीमा नोक्सान पु¥याएपछि केरा उत्पादनमा ह्रास आउने केरा किसान बताउँछन्। (आजको अन्नपूर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.