अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता दिने निर्णय भएको छ

रिपोर्ट नेपाल | 2019 Apr 07 | 02:59 pm 954

पाेखरा,  चैत २४ : गृहमन्त्री रामबहादुर थापाले अदालतको आदेश र संविधान अनुरुप वंशजका आधारमा नागरिकता दिने निर्णय भएको बताएका छन् ।

गण्डकी प्रदेशमा दुई दिने सुरक्षा गोष्ठीमा आएका थापाले आइतबार आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए ।

संसद्मा नागरिकतासम्बन्धी विधेयक छलफलका क्रममा रहे पनि अधिवेशन रोकिएका कारण तत्काल समस्या निराकरण गर्न मन्त्रालयले परिपत्र गरेको उनले स्पष्ट पारे । सर्वोच्च अदालतको आदेशका साथै संविधानमा व्यवस्था भएकाले यसमा शंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।

अर्को प्रसंगमा उनले प्रदेश प्रहरी ऐन छलफलका क्रममा रहेका र संसदको अर्को अधिवेशनले यसलाई पारित गर्ने जानकारी दिए । सरकार गठन भएको एक वर्षलाई आधार वर्षका रुपमा लिइएको उल्लेख गर्दै उनले यसबीचमा विकासका पूर्वाधार निर्माणका साथै नीतिगत र संरचनागतरुपमा काम भएको दावी गरे ।

उनले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएकाले पृथकतावादी आन्दोलनमा लागेको समूहलाई देशको अखण्डता र विकासमा समाहित हुने गरी मूलधारमा ल्याइएको बताए । विप्लब समूह शान्ति सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई पनि मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको उनले बताए ।

उक्त समूहका असंबैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताउँदै उनले संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.