बेलिब्रिज खोलेपछि उपभोग्य वस्तुको मूल्य दोब्बर

रिपोर्ट नेपाल | 2018 Jun 14 | 01:06 pm 4054

उदयपुर,जेठ ३१:   गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ ।

अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा यातायातका साधन पूर्णरुपमा बन्द भएपछि व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि गरेका छन् । रौतामाई गाउँपालिका फोक्सिङ्टारका हर्कसेर राई व्यापारीले चाउचाउको मूल्य प्रति प्याकेट रु २० बाट बढाएर रु ३५ तथा प्रति प्याकेट तेलको मूल्य रु ७० बाट बढाएर रु ९० भन्दाबढी गरेको बताए ।

दिप्रुङ गाउँपालिका लिच्की राम्चेका सुदर्शन सापकोटा भन्छन्, “सुनकोशीमा बेलिब्रिज खोलेपछि नून, चाउचाउ, तेल, चिनी, चिया, चामललगायत वस्तुको भाउ दोब्बरले वृद्धि भयो ।”

बेलिब्रिज खोलेपछि ग्रामीण भेगका बासिन्दा महँगीको चपेटामा परेका लिच्की राम्चे प्राविका शिक्षक जगत खड्काले बताए । बेलिब्रिज खोलिएसँगै यातायातका साधन सञ्चालन नहुँदा सामान ढुवानी गर्न बढी खर्च हुँदा दैनिक उपभोग्य वस्तु महँगो भएको हो ।

सुनकोशीमा अहिलेसम्म स्थायी पुल निर्माण हुन सकेको छैन । वर्षेनि वर्षायाममा बेलिब्रिज खोल्ने गरिएको छ । विसं २०५१ देखि निर्माण शुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोशी नदीमा २३ वर्ष बितिसक्दा पनि पक्की पुल निर्माण हुन सकेको छैन । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.