घोडेजात्रा २०७५ विविध कार्यक्रमहरुबीच सम्पन्न

| 2019 Apr 05 | 06:55 pm 2261

काठमाडौं, चैत २२ : गते टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरु सहितको घोडेजात्रा समारोह सम्पन्न भएको छ ।

उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकहरुको साईकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्रि जम्प तथा महिला सिक्स वार, भल्टिङ्ग एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटि, म्युजिकल राइड, क्रसकन्ट्रि, पोनी ले डाउन ड्रिल, हंगेरियन पोष्ट र कम्बाईण्ड फायर जम्म प्रदर्शन गरिएको थियो ।

साथै उक्त कार्यक्रममा डग शो अन्तर्गत विविध रोमाञ्चक कलाहरु समेत प्रर्दशन भएको थियो । विभिन्न प्रर्दशनी पश्चात समारोहका प्रमुख अतिथि राष्ट्रपतिबाट म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह सेनानी राजेश श्रेष्ठ र द्वितिय हुने घोडसवार सह सेनानी अजयजंग सुवेदी तथा शो–जम्पमा प्रथम हुने घोडसवार सिपाही ओमप्रकाश यादव र द्वितिय हुने घोडसवार जम जगदिश घिसिङलाई पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका माननीय मन्त्रीहरु, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, महामहिम राजदूतहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द एवम् अधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.