नेतृत्वले निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउने जिल्ला सभापतिहरुको चेतावनी

रिपोर्ट नेपाल | 2019 Apr 05 | 07:38 am 2316

काठमाडौं, चैत्र २२ : नेपाली कांग्रेसका बहुमत जिल्ला सभापतिहरुले अब बस्ने केन्द्रिय समिति बैठकले महासमिति बैठकको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका छन् ।

गत बुधबार र बिहिबार राजधानीको ठमेलस्थित काठमाडौं होटलमा बसेको काँग्रेसको जिल्ला सभापतिहरुको बैठकले केन्द्रीय समितिको बैठकले महासमितिको म्याण्डेडलाई मिचेको भन्दै सच्याउनका लागि केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिको भेला अवैध भएको भन्दै विशेष महाधिवेशन फेस गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय पदाधिकारी बुथबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण कोटा एक पटक मात्रै एक व्यक्तिलाई दिनुपर्ने महासमिति बैठकमा निर्णय भएको थियो । महासमितिले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले उल्टाएपछि जिल्ला सभापतिहरु आक्रोशित भएर भेला बोलाएका थिए ।

विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्ने भएकोले जुटाउन सक्ने वा नसक्ने भन्न नसकिने स्थिति रहेको छ । भोली शनिबार बस्ने केन्द्रीय समितिको बैठकले निर्णयलाई नसच्याए सभापतिको भेलामा भएको निर्णय बमोजिम मेचिकाली जागरण अभियान अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई हस्ताक्ष गराउन सक्ने अनुमान गरिएको छ ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एक जनालाई एक पटक भन्दा बढी अवसर दिन नहुने र केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रीय नेतृत्वसंग आक्रोशित भएका छन।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले आरक्षण कोटामा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने र केन्द्रीय सदस्यहरु स्वत महासमिति सदस्य हुने व्यवस्था हटाउने निर्णय गरेको थियो । महासमिति बैठकले पारित गरेको उक्त निर्णयलाई विधानमा समाबेश गरी संशेधित विधान केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनी शीर्ष नेताहरुले समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

समावेशी कोटामा एक व्यक्तिले एकपटक मात्र अवसर पाउनुपर्ने र केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहबाटै चुनिएर आउनुपर्ने माग जिल्ला सभापतिहरुको मात्र नभइ सिंङ्गो महासमितिको निर्णय भएको नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिह केसीले बताए । सभापति केसीका अनुसार केन्द्रीय समितिले निर्णय सच्चाएन भने विशेष महाधिवेशनको लागि ४० प्रतिशत हैन ८० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन हुन्छ ।

महासमिति बैठकको निर्देशन विपरित केन्द्रीय समितिबाट सभापति शेरबहादुर देउवा पक्षलले बहुमतका आधारमा संशोिधत विधान अनुमोदन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले नोट अफ डिसेण्ट लेखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.