त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति सुरु

| 2019 Apr 03 | 03:40 pm 2216

काठमाडौं, चैत  २० :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग)को स्तरोन्नति सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले आज स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थलको धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो । धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति गर्न लागेको हो ।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग पिच मर्मत हुनेछ । सो अवधिभित्र अहिले भइरहेको पिचको निश्चित भाग भत्काइने र नयाँ पिच राखेर बिहान उडान सञ्चालनयोग्य बनाइने विमानस्थलले जनाएको छ ।

नेपाल नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलका अनुसार रन वेको स्तरोन्नतीका लागि ९० दिन लाग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.