नेकपाले स्थापना दिवस भङगेरीमा मनाउँदै

रिपोर्ट नेपाल | 2019 Apr 02 | 08:22 am 1740

काठमाडौंं, चैत्र १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो ।

तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए । पोखरेलले पार्टी स्थापना दिवस वैशाख ९ गते प्रदेश कमिटीका सबै सदस्यहरुलाई अनिवार्य रुपमा सहभागी हुन बैठकले निर्णय गरेको जानकारी दिए ।

नेकपा तीन नम्बर प्रदेश कमिटी २ सय २१ जना सदस्य नै भङगेरीमा सहभागी हुने छन भने प्रदेश कमिटीले तीन नम्बर प्रदेशमा नै नेकपाको १ सय १० जना केन्द्रीय सदस्यहरुलाई पनि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । पार्टी एकीकरण भएपछि प्रदेश कमिटीले पुष्पलालको जन्मभूमिमा पार्टी स्थापना दिवस मनाउन लागेको हो । कम्युनिष्ट पार्टीले पुष्पलालको जन्मभूमिमा पहिलो पटक ठूलो कार्यक्रम आयोजना गर्न लागेको हो ।

सरकारले पुष्पलाल स्मृति पार्क निर्माणको लागि ५२ रोपनी जग्गा अधिकरणको काम अगाडि बढाएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका पुष्पलाल स्मृति प्रतिष्ठानका संयोजक देवशकंर पौडेलले पार्क निर्माणको काम अगाडि बढेको बताए । उनका अनुसार पार्क निर्माणसँगै पुष्पलालको शालिक समेत निर्माण गरिने जनाए । नेपाल समाचारपत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.