सरकारको कामकारबाही प्रति सभापति देउवाको असन्तुष्टि

रिपोर्ट नेपाल | 2019 Mar 30 | 09:41 pm 2276

गुल्मी, चैत्र १६ :  नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाएका छन् । जनहितको लागि काम गर्ने दुई तिहाईको सरकारले हत्या हिंसा र बलात्कार बाहेक अरु केहि गर्न नसकेको उनले आरोप लगाए ।

सभापति देउवाले बलात्कारी र भष्ट्राचारीलाई संरक्षण गर्दैमा सरकारलाई काम गर्ने फुर्सद नभएको बताए । कम्युनिष्टका सस्ता नाराबाट नेपाली जनता झुक्किएको बताउँदै उनले नेपाली कांग्रेसको विचार र सिद्धान्त लिएर अब गाउँ–गाउँ पुग्ने जनाए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भष्ट्राचारको जगका सरकारले समृद्धिको आधार खोज्नु मुर्खता भएको बताए ।

उनले भ्रष्टचार गर्दिन र गर्न दिन्न भन्ने केपी ओली अहिले अख्तियार तर्साउने खेलमा लागेको आरोप लगाए । वाइडबडिको प्रमाण संसद र समितिमा छ, ओली कमिसनकै लागि बसेका अनि एनसेल र बुढीगण्डकीको जलविद्युतमा पनि बार्गेनिङ्ग चलेको बताए ।

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको विचार, सिद्धान्त र कार्यकर्ता एकजुट भएपनि भ्रमले निर्वाचनमा आफूहरु पछि परेको बताए ।

अबको पार्टीको प्रमुख काम नै पार्टी निर्माण र सरकारको खबरदारी भएकाले अर्को निर्वाचनमा आफूहरु एक्लैले दुई तिहाई मत प्राप्त गर्ने दावी गरे ।

उनले सडक बनाउने, विश्व विद्यालय र मेडिकल कलेज स्थापना गर्ने कांग्रेस भएपनि त्यसको जस नेकपाको सरकार र नेताले लिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले अहिलेको सरकार नाफा कमाउने कम्पनी भएको बताए । उनले सरकारले विज्ञापनमार्पmत कांग्रेसले गरेका कामको प्रचार गरेर आफूलाई स्थापित गरेर नाफा कमाउन खोजेको आरोप लगाए ।

साथै महतले कम्युनिष्टको संगठन निर्माण र प्रचार गर्ने तरिका कांग्रेसले सिक्नुपर्ने बताए । ‘कांग्रेसले काम गर्छ, घरघरमा प्रचार गर्दैन,’ उनले भने, ‘कम्युनिष्टले आकर्षक प्रचार गर्न जानेकाले हाम्रो काम पनि आफैँले गरेको भन्दै प्रचार गर्छ ।’

नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलन शुरु भएको छ । यो सम्मेलनलाई कांग्रेस गुल्मीले निकै महत्व र चसोको रुपमा लिएको छ ।

जसका लागि केन्द्रीय सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित दुई दर्जन केन्द्रिय नेता जिल्ला आएका छन् ।

जिल्लादेखि केन्द्रसम्मको कांग्रेसलाई अझ मजबुत र एकताबद्ध बन्न सन्देश दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।

यो सम्मेलनबाट संगठनलाई जिल्लादेखि गाउँ र स्थानीय तहसम्म बलियो र सशक्त बनाउने, कार्यकर्तालाई प्रशिक्षण दिने, वर्तमान सरकारले गरेका ज्यादती र भ्रष्टाचारको भण्डाफोर गर्ने, कांग्रेसको पक्षमा उभिएको जनलहरको शक्ति प्रदर्शन गर्नेलगायतको भावी रणनीति बनाउने उिनले बताए ।

सम्मेलनको लागि कांग्रेसले यसअघि जिल्लाका १२ वटै स्थानीय तहमा भेला र प्रशिक्षण गरेको थियो । नेपाली कांग्रेस गुल्मीले संगठनलाई बलियो बनाउन जिल्लामा छाँया सरकार गठन समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.