जनकपुर बमकाण्ड : पूर्वमन्त्री साहसहित ७ जनालाई जन्मकैद

रिपोर्ट नेपाल | 2019 Mar 28 | 06:50 pm 1915

काठमाडौं, चैत १४ : तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटवालको इजलासले टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको हो ।

बम विस्फोटका योजनाकार साहसँगै अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो । ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ । सुनिलकुमार पाण्डेले भने सफाइ पाएका छन् ।

प्रतिवादीहरु जितेन्द्रकुमार कर्ण, आदित्य देब, नारायण भन्ने उमेश यादव र फुलकुमार यादव भने फरार छन् । उनीहरुको हकमा पछि फैसला हुने अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।

२०६९ साल वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिको आह्वानमा जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।

पहिलो संविधानसभाकै क्रममा उनी फोरम लोकतान्त्रिकबाट भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । सो समयमा विजय कुमार गच्छदार भौतिक योजना तथा पूर्वाधार थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.