माननिय र नायिका एसईईमा जाँच दिँदै

| 2019 Mar 24 | 07:18 am 2033

काठमाडौँ, चैत्र १० : नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय राजनीतिमा आएकी चौधरीसँगै मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थी आइतबार सुरु एसईईमा सहभागी हुँदैछन् ।

परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन्, सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि छन्। परीक्षा नियन्त्रण कार्यालयसँग एसईई दिने पाको उमेरकाको संख्या भने यकिन छैन।

मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन्। खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिँदैछिन्। १८ वर्ष कमलरी बसेकी शान्ताले दाङको महेन्द्र माविमा ८ कक्षामा भर्ना भएर पढ्न थालेकी थिइन्। उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन्। उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

औपचारिकबाट औपचारिक शिक्षाप्रति नायिका मानन्धर र सांसद चौधरीजस्ता व्यक्तिले देखाएको लगाव प्रेरणादायी प्रसंगका रूपमा लिनुपर्ने शिक्षाविद् औंल्याउँछन्। नायिका करिष्मा मानन्धरले कक्षा ८ बाट अध्ययन गर्नुपर्ने, ६० वर्षको पाको व्यक्ति कक्षा १ बाट पढ्नुपर्ने दृष्टान्त छ, बेलायतमा रहेका साहित्यकार विश्वासदीप तिगेलाले फेसबुक वालमा लेखेका छन्, त्यो प्रेरणादायी कुरा त हुँदै हो, तर अन्य मुलुकमा बढी उमेरका, धेरै अनुभव लिइसकेकालाई एकैपटक ब्रिज कोर्स गराएर माथिल्लो तहमा अध्ययनको सुविधा हुन्छ। नेपाल सरकारले कहिले थाहा पाउने होला ?

शिक्षाविद् विद्यानाथ कोइराला विद्यालय शिक्षा नियमित र खुलाबाट पढ्न पाउने नीति भए पनि पाको उमेरलाई लक्षित ब्रिजकोर्स अहिलेसम्म नेपालमा नभएको बताउँछन्। बालबालिकालाई उमेर बढेसँगै पढ्ने र पढाउने स्कुल छन्, पाको उमेरका मानिसले अनौपचारिक मोडबाट मात्र शिक्षा हासिल गर्न सक्ने अवस्था छ, उनले भने, एउटै स्कुलले औपचारिक र खुलाबाट पढाइ सञ्चालन गर्ने नीति छैन। यो व्यवस्था हुनुपर्छ। जसमा पठनपाठन छुट्टाछुट्टै भए पनि जाँच एउटै लिने प्रणाली बन्नुपर्छ।

सरकारको नीतिअनुसार अहिले कक्षा १–३, कक्षा १–५, कक्षा ६–८ र कक्षा ९–१० को अनौपचारिक शिक्षा प्याकेज छ। यो प्याकेज क्षेत्रगत रूपमा कोटाका आधारमा छुट्याइएको छ। कक्षा ११ र १२ को अनौपचारिक शिक्षाको पाठ्यक्रम प्याकेज बनाउन बाँकी रहेको उनले उल्लेख गरे। कक्षा १२ सम्म विद्यालय शिक्षा मानिन्छ। त्यसभन्दा माथि विश्वविद्यालय शिक्षा लागू हुन्छ। यसै वर्षबाट नेपालमा खुला विश्वविद्यालय सुचारु रहेकाले १२ कक्षा वा सोसरहको शिक्षा हासिल गरेकाले खुला मोडबाट उच्च शिक्षा हासिल गर्न सक्छन्।(कान्तिपुर दैनिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.