पूर्वी चितवनका अवैधधारीको निद हराम

रिपोर्ट नेपाल | 2019 Mar 21 | 02:59 pm 8052

चितवन, चैत्र ७ : पूर्वी चितवनमा रहेको इलाका प्रहरी कार्यालय टाँडीले चलाएको पछिल्लो अभियानले अवैध कार्य गर्नेहरुको निद हराम भएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले योजना तयार पारी गरेको अप्रेशनमा सफलता हासिल गर्न प्रहरी सफल भएको छ ।

अभियानका क्रममा प्रहरीले जनताको स्वास्थ्यसँग खेलवाड गरी विविध अखाद्य वस्तु हालेर बनाइएको एक लाख भन्दामाथि अवैध घरेलु मदिरा नष्ट गरेको छ । दिनभर जुवातासमा रमाउने जुवाडेलाई पनि टाँडी प्रहरीले झड्का दिएको छ । यस बीचमा प्रहरीले एक क्वीन्टल भन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गर्न सफल भएको छ ।

राप्ती नगरपालिकाको वडा नम्बर १२ हङपुङबाट उक्त लागूऔषध गाँजा बरामद गरिएको हो । त्यस्तै टाँडी प्रहरीले अवैध काठ समेत बरामद गरेको छ । कालिका नगरपालिका वडा नम्बर ८ को जुरपानीबाट ना ६ त १६५८ नम्बरको ट्याक्टरमा लोड गर्दै गर्दा काठ बरामद गरिएको हो । एक सय १० पीस सिसौको अवैध चिरान काठ बरामद गरी ट्याक्टर र ट्याक्टर चालक झगलाल प्रजालाई नियन्त्रणमा लिई वन कार्यालयमा अनुसन्धानका लागि पेश गरिएको थियो ।

एक टोल एक घण्टा अभियानबाट हौसिएको चितवन प्रहरीको काम कारबाहीबाट अत्तालिएका अवैध कामधारीको आँखामा डिएसपी दयानिधि ज्ञवाली आँखाको कसिंगर बनेका छन् भने ऐन नियम मान्नेहरु खुसी भएका छन् । डिएसपी दयानिधि ज्ञवालीको कमाण्डमा रहेको इलाका प्रहरी कार्यालयमा रहेका सिनियर अधिकृत देखि जवानसम्मको टिम मिलेका कारण पूर्वी चितवनमा कुनै अप्रिय घटना घटेका छैनन् ।

विगतमा अनेक घटनाबाट पीडित बनेका त्यहाँका स्थानीय अहिले भइरहेको शान्ति सुरक्षा र प्रहरीको काम कारबाही प्रति खुसी देखिन्छन् । प्राय घटना घटी रहने पूर्वी चितवनमा पछिल्लो समय छिटफूट घटना बाहेक रामराज्य भएको भन्दा पनि हुने स्थानीय थानेश्वर सापकोटाले रिपोर्ट नेपाललाई बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.