काठमाडौँ, चैत ६ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गएका छन् । नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रहरी महानिरीक्षक खनाल आज (बुधबार) दिउँसो थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका हुन् ।
आउँदो बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन उनीसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत सोमेश थापालगायतका व्यक्तिहरु गएका छन् ।
बैठकमा सदस्य राष्ट्रका सुरक्षा अधिकारीबीच आतंकवाद, लागुऔषध, हातहतियार, मानव बेचबिखनजस्ता अपराध नियन्त्रण तथा सार्वजनिक सुरक्षाका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सदस्य राष्ट्रको शान्ति सुरक्षाका विषयमा भए गरेका गतिविधिको अनुभव आदानप्रदान र विपद् व्यवस्थापनका विषयमा समेत छलफल हुने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
तीन वर्षदेखि वार्षिकरुपमा बिमस्टेक सुरक्षा अधिकारीको बैठक हुँदै आएको छ । प्रहरी महानिरीक्षक खनाल यही चैत ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।