शुक्रबारदेखि काठमाडौंका सडक ५ वटा ब्रुमरले सफा गरिने

रिपोर्ट नेपाल | 2019 Mar 19 | 06:31 pm 3474

काठमाडौँ, चैत ५ : काठमाडौं महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।

अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालिम दिने कामसँगै पार्टपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म सञ्चालनको तयारीको सबै काम सकी प्रयोगमा ल्याइनेछ । नियमित रूपमा कुन–कुन सडकमा उक्त यन्त्रले सफा गर्ने भन्ने विषयमा कामपा प्रमुखसँग छलफल भएको प्रवक्ता डंगोलले बताए ।

कानुनी रूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । अबको केही दिनमा कुन–कुन स्थानमा उक्त यन्त्र प्रयोग गर्ने भन्ने यकिन हुनेछ । ती ब्रुमर रु. १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो । कामपासँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि कामपाले जनाएको छ । गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।

सबै ब्रुमर अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताका छन् । ती ब्रुमरमा दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमताका रहेका छन् । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्र रूपमा भई धुलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.