काठमाडौं, चैत्र ४ : विगत केही महिनादेखि काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका वडा नम्बर–१ का ३८ वर्षीय मसा तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–२ का ३१ वर्षीय बुद्धिमान तामाङ, नुवाकोट मेघाङ गाउँपालिका वडा नम्बर–६ का २६ वर्षीय राउ सिंह तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–२ का २८ वर्षीय मंगले तामाङ, गोरखा साविक हंसपुर गाविस वडा नम्बर–५, हाल अजिकोट गाउँपालिकाका ३९ वर्षीय कुशल अधिकारी, गोरखा नगरपालिका वडा नम्बर–१ ताप्लेका ३२ वर्षीय गोविन्द पोखरेल रहेका छन् ।
उनीहरुले विभिन्न व्यक्तिहरुलाई सस्तो मुल्यमा सुन दिलाई दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको भनी परेको उजुरीको आधारमा ब्यूरोले पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले उनीहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको हो । उनीहरुको साथबाट नक्कली सुन २ थान र १ हजार दरको नक्कली नेपाली नोट ५ थानसहित पक्राउ गरेका प्रहरीले जानकारी दिए ।
उनीहरु विरुद्ध ठगी एवं खोटाचलन कसुरमा काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बुझिएको छ ।