काठमाडौं, चैत्र ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले लायन्स क्लबले विपत्तिका बेला मुलुकलाई पुर्याएको योगदान सम्झन लायक र प्रशंसनीय भएको बताएका छन् ।

लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको दोस्रो स्थापना दिवस तथा सम्मान समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । प्रमुख अतिथिको आसनबाट बोल्दै नेता नेपालले समाजसेवाको भावबाट क्लबले महाभुकम्पको समयमा पुर्याएको योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए ।
नेता नेपालले देश भक्तिको भावनाले ओतप्रोत हुनेलाई राज्यले सम्मान गर्न कन्जुस्याई गर्न नहुने बताएका थिए । क्लबले गरेका सम्मान नृत्य र आसन ग्रहण प्रति कटाक्ष गर्दै नेपालले नृत्यमा मधेस नदेखिनु र आसन ग्रहणमा समय खर्चिनु गलत भएको बताएका थिए ।

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न समारोहमा डिष्ट्रिक गभर्नर असोक कुमार श्रेष्ठले लर्ड बुद्धले छाटो समयमा स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा गरेको कृयाकलाप उत्कृष्ट भएको बताएका थिए ।
चार सय क्लब मध्य लर्ड बुद्धले आफ्नो कामबाट उत्कृष्टमा नाम लेखाउन सफल भएको श्रेष्ठको भनाई रहेको थियो । गभर्नर श्रेष्ठले क्लबको उद्देश्य जनताको दुखेको घाउमा मलम लगाउने भएको र लर्ड बुद्धले त्यही अनुसार कार्य गरेको बताएका थिए ।

क्लबमा सकृय साथीहरुले सेवामा रमाउँदै दुःखीको आँसु पुछेर मुस्कान ल्याउने काम गरेकोमा लर्ड बुद्धको नेतृत्वको प्रशंसा गरेका थिए । आगामी दिनमा स्वास्थ्य, शिक्षा र अन्य सामाजिक कार्यमा स्थानीय सरकारसँग हातेमालो गरी अगाडि बढ्ने क्लबको योजना भएको गभर्नर श्रेष्ठले बताएका थिए ।
कार्यक्रममा बालकृष्ण बुर्लाकोटी, धुर्व थापा, लिला खरेल, राजन लम्साल, मनबहादुर रोका, मन्जरी खरेल, युक्त श्रेष्ठ, पार्वती खरेल(पाण्डे) र भुगोल शेरचनले क्लबको गतिविधि बारे प्रकाश परेका थिए ।

स्थापना दिवसका अवसरमा क्लबले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्वसभाषद् तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, वरिष्ठ पत्रकार टंक पन्त, सेन्चुरी बैंकका प्रवन्ध निर्देशक रन्जन खड्का, प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचन, नारायण भण्डारी, यमुना भण्डारी, जगदीशचन्द्र पोख्रेल, पिताम्बर भण्डारी, धुर्व ज्ञवाली, देवी ज्ञवाली, विष्णुकुमारी कडेल, धनबहादुर परियार र संस्कृतिको संरक्षण सम्बर्धन गर्नुपर्छ भन्दै कला प्रस्तुत गर्ने कलाकारलाई नेकपाका नेता माधवकुमार नेपालले सम्मान गरेका थिए ।

नेपालमा ४८ वर्षदेखि सकृय लायन्स क्लबले सामाजिक कार्यमा प्रशंसनीय काम गरेको छ भने लर्ड बुद्धले छोटो अविधिमा देशका विभिन्न स्थानमा बृहद स्वास्थ्य शिविरलगायत अन्य रचनात्मक काम गरेको बताइएको छ ।