राप्रपाको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन (फाेटाेफिचर)

| 2019 Mar 15 | 02:08 pm 2380

काठमाडौं, चैत्र १ :  राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा काठमाडौंको भृकुटीमण्डपमा समापन भएको छ । फागुन १५ गते बुधबार ताप्लेजुङको पाथीभरा मन्दिरमा पूजा–अर्चना गरी सदरमुकाम फुङलिङबाट शुरु भएको सो स्वाभिमान यात्रा चैत १ गते शुक्रबार समापन भएकाे हाे ।

 

पार्टीले विभिन्न माग राख्दै मेची-महाकाली यात्रा सुरू गरेकाे थियाे । यात्राका क्रममा सहभागीले दुई हजार ८ सय १० किलोमिटर दूरी पार गरेकाे थियाे । पार्टीका अध्यक्ष कमल थापाले नेतृत्वमा सुरू भएको र्‍यालीमा विभिन्न जाति तथा धर्म झल्कने चिह्नसहित गाईको प्रतिमूर्ति बनाएको थियो ।

राप्रपाले उपत्याकामा ललितपुरको जाउलाखेलबाट र्‍याली सुरू गरी भक्तपुर, भक्तपुरबाट काठमाडौंका विभिन्न स्थल हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएकाे हाे।  सभालाई अध्यक्ष कमल थापा सहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गरेका छन् ।

 

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी गत फागुन ७ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची महाकाली यात्रा गरेको थियाे ।

 

राप्रपाले २८१० किमि यात्रा पन्ध्र दिनमा तय गरेको छ, यस क्रममा साना ठूला गरि १५० वटा सभाहरु भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । यात्राका क्रममा हिन्दु राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठ बताउँछन् ।

 

राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्कने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपा पनि फरकफरक सवारीमा यात्रा संगै थिए । हरेक दिन कम्तीमा १० वटाका दरले भएका साना ठूला सभाहरुमा स्थानीय र टाढा टाढाबाट समेत जनताको उपस्थिति रहेको थियो । प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.