काठमाडौं, फागुन २९ : वैदेशिक रोजगारीको प्रलोभनमा युवालाई ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंको बसुन्धरास्थित डेल्टा म्यानपावरका सञ्चालक राजन केसीलाई पक्राउ गरेको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले मंगलबार साँझा पक्राउ गरेको जनाइएको छ । सिन्धुपाल्चोक घर भएका केसीले रोजगारीका लागि टर्की पठाई दिने आश देखाउँदै करिब ७० जना जना युवाबाट प्रतिव्यक्ति ४ लाखका दरले ठगेको खुलेको छ ।
केसीले पैसा उठाई हालसम्म युवाहरुलाई विदेश नपठाएको सम्बन्धमा अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको वृत्तका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिएका छन् । पीडितहरुले मंगलबार राजनलाई बानेश्वरबाट नियन्त्रणमा लिएको र वैदेशिक रोजगार विभागले आवश्यक कार्वाहीको लागि प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
यसअघि सञ्चालक केसीले डेल्टा इन्प्लोइमेन्ट सर्भिस प्रालि, स्वीप्ट नेपाल म्यानपावर प्रालि र मास्र्टर जब प्रालिमार्फत एक हजार ३ सय बढी युवालाई एयरपोर्टमा राम्रो काम छ भन्दै २०१८ को जनवरीमा २ वर्षको लागि भनेर टर्की पठाएका थिए । केसीले ३ लाखदेखि ४ लाख ५० हजारसम्म उठाएका थिए ।
तर, सम्झौता अवधि नपुग्दै पठाएका १३ सय ६५ बढी युवा ५ महिनामै टर्कीको राजधानी स्टानबुलबाट कम्पनीले फिर्ता पठाएपछि म्यानपावर सञ्चालक केसी फरार भएका थिएए । फरार रहेको अवस्थामै केसीले फोनमार्फत पीडितहरुलाई छिट्टै नै पैसा फिर्ता गरिदिने आश्वासन दिए पनि वचन पूरा नगरेको पीडितले बताएका छन् ।