लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद अवरुद्ध

| 2019 Mar 13 | 03:19 pm 1901

काठमाडाैं, फागुन २९ : राष्ट्रिय जनता पार्टी नेपालले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ ।

बुधबार राजपाले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश (गिरिशचन्द्र लाल)को अध्यक्षतामा  गठित मधेश आन्दोलन सम्बन्धी छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिएका थिए। यादवले अघिल्लो बैठकमा नै आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग उठाउदा गृहमन्त्री रामबहादुर थापाले हल्काफुल्का जवाफ दिएको भन्दै आपत्ति जनाएका थिए ।

मधेश आन्दोलन र थारु आन्दोलनलाई आपराधिक भनिदै आएकोले सो रिपोर्ट सार्वजनिक भएमा धेरै कुरा खुल्ने बताए । उनले भने, ‘प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भन्ने माग गर्दा पनि सुरु सुरुमा कहाँ हो, के हो खोज्नमै ६/७ महिना समय लगायो, अहिले अध्ययन गर्दैछौं भन्ने, आवश्यकता महसुस भयो भने सार्वजनिक गर्ने भन्ने जस्ता स्वेच्छाचारी प्रवृत्ति देखियो’ ।

यादवले सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदको कारबाही चल्न नदिने समेत बताए ।

सभामुख महराले आफूले यसबारेमा सरकारलाई निर्देश गरेको र गृहमन्त्रीले सकारात्मक जवाफ दिएकोले सदन सुचारु गर्न आग्रह गरेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.