चोरी कार्यमा संलग्न तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 12 | 01:55 pm 1756

काठमाडौं, फागुन २८ : चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप सुनापाती–५ घर भएका ४१ वर्षीय ओमराज श्रेष्ठ, काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्‍वर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय पारस प्रसाद र ३२ वर्षीय सन्तोष पोदारलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित कर्णबहादुर चौलागाईको हार्डवेयर पसलबाट अपरिचित व्यक्तिहरुले फागुन २१ गते विभिन्न सामानहरु चोरी गरेको घटनाको विशेष अनुसन्धानबाट बा १ ज २१९२ नम्बरको ट्याक्सी चोरीमा संलग्न भएको खुल्न आए पश्चात ट्याक्सी चालक ओमराज श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठलाई सोधपुछ गर्ने क्रममा उनको बयान अनुसार काठमाडौं महानगरपालिका–३१ डेरा गरी बस्ने पारस प्रसाद र सन्तोष पोदारलाई चोरी गरी लुकाई छिपाई राखेका विभिन्न सामानहरु सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुको डेराबाट बाथरुम तथा धारामा प्रयोग गरिने विभिन्न सामानहरु ३८ बोरा, चाँदीका बिभिन्न किसिमका भाडाकुँडाहरु ९ किलो ५ सय ग्राम र नगद ७० हजार रुपैयाँ तथा सामान ओसारपसार गर्न प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यान समेत प्रहरीले बरामद गरेको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.