जनअभिमत नै जनमतसंग्रहको रूपमा व्याख्या भए अमान्य : सभापति देउवा

रिपोर्ट नेपाल | 2019 Mar 10 | 02:58 pm 1679

म्याग्दी, फागुन २६ : नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र सिके राउतबीच भएको सहमतिको पार्टीले अध्ययन गरिरहेको बताएका छन्।

स्वतन्त्र मधेसका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भएपनि सरकारले बुँदागत रूपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने बताए ।


आइतबार प्रेस युनियन म्याग्दीले आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवै पक्षबीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेसमा अस्थितरता ल्याउन जनमतसंग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने चेतावनी दिए ।

उनले उनले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने प्रयास सकारात्मक भएको बताए । देशमा शान्ति सुरक्षा कायम गर्न विभिन्न समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयास सकारात्मक भएपनि सरकार सञ्चालनमा सहज हुने गरी मनपरी गर्न नदिने उनले बताए ।

पत्रकार सम्मेलनमै देउवाले पार्टीभित्रको विवादलाई अन्त्य गर्ने आफ्नो प्रयास रहको बताउँदै पार्टी व्यक्तिबाट नभई विधान अनुसार चल्ने बताए । उनले नेपाल विद्यार्थी सङ्घको विवादको अन्त्यमा आफ्नो प्रयास जारी रहेको बताउँदै अन्य भात्रृ संगठनको निर्वाचनलाई समयमै गर्ने बताए ।

महासमितिको बैठकले पारित गरेका विषयमा पत्रकारले राखेको जिज्ञासामा देउवाले पुराना सभापतिले सञ्चालन गरेको पद्धतिलाई निरन्तरता दिएको तर्क प्रस्तुत गदै वडाबाटै निर्वाचित भएर आउनुपर्नेमा आफैँलाई कुनै समस्या नभएको बताए ।

उनले आफैँ हिन्दू भएपनि देशमा सबै धर्मको सम्मान हुने गरी पार्टी अगाडी बढ्ने बताए । आगामी महाधिवेशनबाट नयाँ रूप आउने बताउँदै देउवाले पार्टी भित्रको विवादले काम गर्न समस्या भएको दाबी समेत गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.