काठमाडौँ, फागुन २४ : नेपाल महिला संघकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उमा रेग्मीले चुल्होदेखि शाषनसम्म महिलाको सहभागिता पुरुष सरह बनाउका लागि सङ्घर्षको आवश्यकता रहेको बताइन् ।
महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बाेल्दै विगतमा भएको महिला आन्दोलनले राज्यका विभिन्न निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उल्लेख गर्दै रेग्मीले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन् । उनले अहिले महिलाले पाएका अधिकार र आरक्षण कसैले माया गरेर दिएको नभै आफूहरूको संघर्षले प्राप्त भएको रेग्मीले दाबी गरिन् ।
आगामी दिनमा महिलामाथि हुने हिंसा र विभेद अन्त्यका लागि सबै महिला अधिकारकर्मी एकतावद्ध हुनुपर्नेमा उनले जोड दिइन् । रेग्मीले प्रश्न गरिन्, “शासक र शासित होइन । मालिक र दास होइन । श्रीमानले भात पकाउन र तरकारी काट्न किन हुँदैन ?” ।
रेग्मीले अमेरिकामासमेत महिलाप्रतिको दृष्टिकोण परिवर्तन भइनसकेकाले नेपालमा अहिलेको अवस्थालाई अत्यन्त दयनीय भन्न नमिल्ने बताइन् । उनले भनिन्, “अमेरिका जस्तो देशमा पनि महिला उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपति चुनावमा हराइयो ।”
रेग्मीले निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै लुकाएको आरोप समेत लगाइन् । उनले भनिन्, “८ महिनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन ।” ।
रेग्मीले विभिन्न निकायको नेतृत्व महिलालाई दिने हो भने नेपालमा भ्रष्टाचारसमेत कम हुने दाबी गरिन् । सबै क्षेत्रको नेतृत्व तहमा रहेका पुरुषहरूले नै भ्रष्टाचार गर्ने गरेको जिकिर गर्दै रेग्मीले महिला प्रधानमन्त्री बन्ने हो भने भ्रष्टाचार रोकिने दाबी गरिन् ।
पछिल्लो समय महिला आन्दोलन सुस्ताएको भन्दै उनले सबै दलका महिला नेतृ र अधिकारकर्मीलाई एक हुन आग्रहसमेत गरेकी छिन् ।