काठमाडौँ, फागुन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर चन्द्रकान्त राउत (सिके) को प्रशंसा गरेका छन् । राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डको जस्तै असाधारण निर्णय क्षमता देखाएको भन्दै सीके राउतको शंसा गरेका हुन् ।
प्रचण्ड पनि युद्ध र हतियारको बाटो त्यागेर शान्तिपूर्ण राजनीति हुँदै संविधान निर्माणमै अगुवाइ गर्दै यहाँसम्म आइपुगेको बताउँदै प्रधानमन्त्री ओलीले ती गुण डाक्टर राउतमा पनि देखेको बताए । ‘सिके राउतमा पनि निर्णय क्षमता देखेँ, पुष्पकमल दाहाल प्रचण्डमा त्यस्तो निर्णय क्षमता थियो । प्रचण्डले जनयुद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आउन यस्तै निर्णय क्षमता देखाउनुभएको थियो’, ओलीले भने, ‘सिके राउतमा पनि मैले त्यस्तो छाँटकाँट देखेँ, निर्णय क्षमता बलियो छ ।’
डाक्टर सीके राउत कम्प्युटर वैज्ञानिक मात्रै नभएर एउटा राजनीतिक चिन्तक पनि भएको प्रधानमन्त्री केपी ओलीले बताए । अहिले सिङ्गै देशलाई सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘देशको एक इञ्च जमिन पनि छुट्याउन र कसैलाई दिन मिल्दैन ।’
नेपाली भूमि विद्वानहरुले ज्ञान संग्रह र त्यसलाई विस्तार गर्नेहरुको देश भएको पनि प्रधानमन्त्री केपी शर्मा ओेलीले बताए। राजनीतिक प्राप्तिको एउटा चरण पार भएकाले अब नेपाल समृद्धि र सुशासनको बाटोमा हिँडेको पनि उनले बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देशमा देखिएका सबै समस्या समाधान गर्न चाहेको पनि स्पष्ट पारे । त्यसैले पनि कसैले पनि सरकारलाई शंकाको दृष्टिले हेर्न नपर्ने उनले बताए ।