काठमाडौँ, फागुन २४ : स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतले आफूहरु गौतमबुद्धका देशमा जन्मेका सन्तान भएकोले आफूहरुको नशा नशामा शान्तिको रगत बगेको बताएका छन् ।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा सरकारसँग भएको ११ बुँदे सहमति कार्यक्रममा सम्बोधन गर्दा उक्त कुरा बताएका हुन् । उनले नेपाललाई स्थिरतामा लैजानका लागि आफूहरु राज्यको मुलधारको राजनीतिमा प्रवेश गरेको बताएका छन् । संयोजक राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षितरुपमा अवतरण गरेकोसमेत दावा गरेका थिए ।
देशमा विगतमा जटिल समस्या थिए, ती समस्यालाई समाधान गरी नेपाललाई स्थिरतामा लैजानका लागि आफूहरुले यो कदम चालेको बताएका थिए । उनले भने आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका हौं।
राउतले आन्दोलनका क्रममा आफ्ना सयौं कार्यकर्ताहरु जेलमा रहेको पनि उक्त सम्बोधन मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। आफ्ना जिल्ला संयोजकको जेलमै ज्यान गएको प्रशंग कोट्याउँदै स्वयम् आफैँ पनि महिनौँ जेलमा बसेको बताएका थिए ।
मोरङको शान्तिपूर्ण कार्यक्रमलाई प्रहरीबाट दमन गरेर आफ्नो खुट्टा भाँचियको पनि राउतले सम्बोधनमा उल्लेख गरेका थिए । सम्बोधनको क्रममा राउतले अब हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने अवस्था नरहेको पनि बताए ।