दुई अध्यक्ष एकसाथ २ नम्बर प्रदेशलाई सम्बोधन गर्ने

| 2019 Mar 08 | 12:46 pm 1704

काठमाडौं, फागुन २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्ला कमिटीमा एकीकरण प्रक्रिया अन्यौल अवस्थामा रहेका बेला नेकपाका दुई अध्यक्ष भाेली शनिबार २ नम्बर प्रदेश जाने भएका छन् ।

विभिन्न किसिमका मधेस मुद्दाका बारेमा नेकपाको सन्देश जनता समक्ष पर्याउनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभाको आयोजना गर्न लागेको बुझिएको छ ।

२ नम्बर प्रदेशस्थित रौतहटको गरुढामा हुने प्रदेशस्तरीय विशाल जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने प्रदेश इञ्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार २ नम्बर प्रदेशका आठै जिल्लाका एक लाख जनता जनसभामा सहभागिता गराउने तिब्र तयारी भइरहेको बताए ।

नेपालको संविधान जारी भएपछि २ नम्बर प्रदेशमा पार्टीले अहिलेसम्म कुनै पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा नगरेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको  मण्डलले बताए । जनसभामा नेताहरुले नेकपाको मधेस नीतिबारेमा जनतालाई जानकारी दिने मण्डलले बताए ।

नेकपाको पार्टी एकतापछि कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरुको एकीकरण गन्जागोल रहेको छ । यसबीचमा सचिवालय बैठक बोलाउन नेताहरुले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड जनसभामा निस्कन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.