काठमाडौँ, फागुन २४ : वातावरणलाई स्वच्छ र सफा राख्नका निम्ति नागरिक आफैं सभ्य हुन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् । काठमाडौं महानगरपालिका वातावरण विभागले आयोजना गरेको एक कार्यक्रममा विज्ञहरुले त्यसका लागि शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको बताएका थिए ।
काठमाडौँका स्थानीय तहले उत्पादन हुने ठाउँमै कुहिने र नकुहिने फोहर छुट्याउने योजना पनि उनीहरुले प्रस्तुत गरेको कार्यपत्र अघि सोरेका छन् । काठमाडौं महानगरपालिका वातावरण विभागले आयोजना गरेको फोहर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले फोहरको उचित व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्नुपर्ने बताएका थिए ।
कामनपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लानुपर्ने बताए ।
फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पुर्याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको वातावरण विभागको भनाइ रहेको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानयि तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।
ककनीमा हाल दैनिक एक हजार मेट्रिकटन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामनपाबाट ५ सय मेट्रिकटन फोहर विसर्ज हुने गरेको विभागले जनाएको छ ।