बारा, फागुन २२ : सवारी ज्यान मुद्दामा विगत २२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७ का कमरूदिन मियां अन्सारी रहेका छन् ।
उनलाई बारा जिल्ला अदालत कलैयाले २०५३ साउन १३ गतेको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत हेटौडाबाट २०५४ जेठ १२ गतेको आदेशले सवारी ज्यान मुद्दामा ४ महिना कैद र ५ सय जरिवाना फैसला गरे पश्चात् फरार रहेका थिए ।
मियां अन्सारीलाई हिजो २१ गते मंगलबार ईलाका प्रहरी कार्यालय सिमरा,बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको थियो । पेशपछि आदेश बमोजिमको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।