भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन अध्यक्ष थापाकाे माग

रिपोर्ट नेपाल | 2019 Mar 05 | 04:56 pm 2132

बारा, फागुन २१ :  राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकार समक्ष माग गरेका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमानको यात्रा अन्तर्गत बारास्थित निजगढमा आयोजित आमसभामा बोल्ने क्रममा थापाले साे कुरा बताएका हुन् ।

उनले सशस्त्र संघर्षमा होमिएका युवाको अवस्था दयानिय भएको प्रति दुख व्यक्त समेत गरे। साथै सशस्त्र युद्धमा होमिएकाहरुले नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भनेर प्रश्न गर्ने बेला आएको उनले बताए।

नेता र कमाण्डरहरु नवधनाढ्य अरबपति बनेको प्रति सशस्त्र संघर्षमा होमिएका युवाहरुको प्रश्न गर्ने समय आइसकेको उनले बताए। सोहि कार्यक्रममा बोल्ने क्रममा नेता बुद्धिमान तामाङले आफू बौद्ध धर्मावलम्बी भए पनि नेपाल हिन्दु राष्ट्र भए मात्र सनातन धर्मको रक्षा हुने जिकिर गरेका छन्।

राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले जातको आधारमा आरक्षण गलत भएको दाबि गरे। उनका अनुसार जातभन्दा पनि आर्थिक विपन्नका आधारमा आरक्षण गरिनु पर्छ।

हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्थाबारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्यलगायतका २२ बुँदे माग सहित राप्रपा हाल स्वाभिमान यात्राको देशदौडाहामा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.