काठमाडौं, फागुन २० : छुट्टाछुट्टै स्थानमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कैलाली, भजनी नगरपालिका–९ का १३ वर्षीया बालिका (आफ्नै छोरी) जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय बालिकाको बुबालाई आज (सोमबार) बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै बारा, निजगढ नगरपालिकाका १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–३ सिंगौलका ८३ वर्षीय गणेशबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टालीले खोजी गर्ने क्रममा बिकलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको छ । यस विषयमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।