काठमाडौँ, फागुन २० : आज महाशिवरात्रि पर्व। देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीकाे लाइन लागेकाे थियाे। दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका चारै ढोका खुला गरिएका छन्।

हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आज भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइए छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिए पनि लुकीछिपी सेवन र बेचबिखन भइरहेको छ ।

