टुँडिखेलमा यसरी मनाइयो महाशिवरात्रि तथा सेना दिवस (फोटोफिचर)

| 2019 Mar 04 | 03:19 pm 3448

काठमाडौँ, फागुन  २० : आज महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँयाे। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम गरियाे।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी छन् । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नाका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिन् ।

उक्त फ्री फल जम्पमा सहभागी हवल्दार पूर्णबहादुर भण्डारी भने प्यारासुट नखुलेका कारण सीधै भुइँमा झरेर घाइते भएकामा नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी वीरेन्द्र अस्पताल छाउनीमा लगेर उपचार गरिरहेको छ । उनको दायाँ खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७५’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो ।

सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएको थियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसका उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा विशेष फौज वाहिनीबाट आतङ्ककारी आक्रमण गर्नेलाई नियन्त्रण गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो । समारोहमा मुलुकका सातै प्रदेशका वेशभूषा र संस्कृति झल्कने नृत्य तथा झाँकी पनि प्रस्तुत गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित थिए । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सङ्घीय संसद् संसदीय समितिका सभापति, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.