पाकिस्तानमा मुसलधारे वर्षा, ६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Mar 03 | 06:51 pm 1049

काठमाडौँ, फागुन १९ :  पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन्। बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम वर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्राप्त जानकारी अनुसार वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ भने कतिपय घरहरू भत्केका छन्। मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ।

बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा पर्दा यातायात सेवा समेत अवरूद्ध बनेका छन्। वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको संख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन्। मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिएपछि कैयौँ वस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.