प्रधानसेनापति चौथो खुल्ला म्याराथन प्रतियोगिता सम्पन्न

| 2019 Mar 02 | 06:07 pm 2366

काठमाडौं, फागुन १८ :  महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रधानसेनापति चौथो खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा (UNITED WE STAND-Let us Stand together) भन्ने मूल नारासहित RUN FOR FUN को रुपमा ‘प्रधानसेनापति चौथो खुल्ला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा ४२.१ सय ९५ किलोमिटर म्याराथन, २१ किलोमिटर हाफ म्याराथन (महिलारपुरुष), विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १० किमि दौड (महिलारपुरुष), विभिन्न विद्यालयका छात्र–छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समावेश गरिएको थियो ।

प्रतियोगिताको छात्र तर्फको ५ किमि दौडमा श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारीका ईश्वर चन्द्र बस्नेत प्रथम, शान्ति विद्या निकेतनका भुपराज पुरी द्वितिय र श्री सैनिक आवासीय महाविद्यालयकै विकास तामाङले तृतिय स्थान हासिल गरेका थिए ।

त्यसैगरी छात्रा तर्फ काजल बिष्ट प्रथम श्री विजेश्वरी ज्ञान मन्दिरका, कुशलता तामाङ द्वितिय र श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकै स्वेच्छा बलामी मगरले तृतिय स्थान हासिल गरेका छन् ।

सोही अवसरमा, पुरुष तर्फको १० किमि दौडमा नेपाली सेनाका सहायक सेनानी विशाल चन्द्र वाजी प्रथम, सेनानी मधु थापा द्वितिय र सह सेनानी नवराज थापा तृतिय भएका थिए । त्यसैगरी, महिला तर्फ सेनानी रजनी अधिकारी प्रथम, सह सेनानी संजिता केसी द्वितिय र सह सेनानी पवित्रा अधिकारी तृतिय भएका थिए।

सोही विधाको पुरुष तर्फ १० किमि विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञसहितको दौडमा काठमाडौंस्थित भारतीय राजदूतावासका Mr. Shashank Shekhar प्रथम र बेलायती राजदुतावासका HE Mr. Richard Morris
द्वितिय र भारतीय राजदुतावासकै Mr. R. Durai Murugan तृतिय स्थान हासिल गरेका थिए ।

उक्त विद्यामा प्रथम, द्धितिय तथा तृतिय स्थान हासिल गर्नु हुने विदेशी सैनिक सहचारी एवं कुटनीतिज्ञहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

हाफ म्याराथन २१ किमि दौड दुई विद्या (४५ बर्ष मुनि र माथि उमेर समूह) मा गरिएको थियो । ४५ बर्ष मुनि पुरुष तर्फको २१ किमि दौडमा नेपाली सेनाका जम कल्याण बानियाँ प्रथम, सिपाही गजेन्द्र राई द्वितिय र अम टिका कटवालले तृतिय स्थान हासिल गरेका छन् ।

त्यसैगरी, सोही विद्याको महिला तर्फ नेपाली सेनाका अम विश्वरुपा बुढा प्रथम, सशस्त्र प्रहरी बलका विन्दा देशा द्वितिय र नेपाली सेनाका सिपाही चन्द्रा रावतले तृतिय स्थान हासिल गरेका थिए । उक्त २१ किमि दौडमा प्रथम, द्वितिय तथा तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

४५ वर्ष माथिको २१ किमि विधामा धर्म महर्जन प्रथम, भीम गुरुङ द्धितिय र भिमसेन अवाले तृतिय हुन सफल भई नगद पुरस्कार क्रमशः ४० हजार, २५ हजार र १५ हजार प्रदान गरिएको थियो ।

त्यसैगरी, म्याराथन प्रतियोगितामा नेपाली सेनाका जम कृष्ण बस्नेतले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरेका थियो भने नेपाली सेनाका हु राजन खत्रीले २ घण्टा २४ मिनेटमा दौड पूरा गरी द्वितिय र नेपाली सेनाका प्युठ नवराज साउदले २ घण्टा २९ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी तृतिय भएको थिए ।

उक्त म्याराथनमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रथम हुने नेपाली सेनाका जम कृष्ण बस्नेतलाई १ लाख २५ हजारको चेकबोर्ड, मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थियो भने द्वितिय, तृतिय, चौथो, पाँचौ, छैठौ र सातौँ स्थान हासिल गर्न सफल भएका धावकहरुलाई समेत प्रधानसेनापति थापाले क्रमशः ६५ हजार, ३५ हजार, २५ हजार, १५ हजार, १० हजार र ५ हजार तथा मेडल र प्रमाण पत्रसमेत प्रदान गरेका थिए ।

साथै प्रथम हुँने जम बस्नेतलाई गोल्छा अर्गनाईजेशनका म्यानेजिङ्ग डाईरेक्टर शेखर गोल्छाले पल्सर मोटरसाईकलको चाबी समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि प्रधानसेनापति थापाले नेपालको प्रतिनिधीत्व गर्दै ओलम्पिक गेममा सहभागी भएका नेपाली सेनाका वहालवाला तथा अवकाश प्राप्त खेलाडीहरुलाई दोसल्ला ओढाई ताम्रपत्र र जनही नगद २५ हजार पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताको म्याराथन तर्फ २ सय ५५ जना, २१ किमि ४५ वर्षभन्दा मुनिको पुरुषतर्फ १ हजार ६ सय ५० जना र महिला तर्फ ३ सय ३५ जना, ४५ बर्षभन्दा माथि पुरुष १६ जना, १० किमि पुरुषतर्फ ६ सय ७०, महिला तर्फ २३, ५ किमि पुरुष तर्फ ६ सय ५०, महिला तर्फ ६० र वाकाथन ६सय गरी कुल सहभागी संख्या ४ हजार २ सय ५९ जना रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, नेपाल ओलम्पिक कमिटिका सदस्यहरु, अखिल नेपाल फूटबल संघका प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, विभिन्न बैंकका प्रतिनिधिहरु, विदेशी NNC  क्याडेट तथा प्रतिनिधिहरु, खेलकुद पत्रकार मञ्च, सञ्चारकर्मीलगायत विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.