हुम्लामा पाँच फिटसम्म हिँउ, दर्जन भन्दा बढी भेडाबाख्रा मरे

| 2019 Mar 02 | 12:49 pm 2316

मार्तडी, फागुन १८  :   बुधबारदेखि लगातार परेकाे वर्षा र हिमपातका कारण हुम्लाकाकाे हिमाली गाउँपालिकाकाे जीवन कष्टकर बनेकाे छ । हिमाली गाउँपालिका – १, २ र ३ वडामा तीन देखि पाँच फिटसम्म हिउँ जमेकाे छ ।

हिउँ परेर जमेका कारण स्थानीयवासी घरबाहिर निस्कन समेत पाएका छैनन् । स्थानीयकाे अनुसार सो गाउँपालिकाका उच्च भेगमा पर्ने युना, गुम्बा लगायतका दर्जनौ बढी स्थानमा भएको बाक्लो हिमपात भएकाे छ । लगातार बर्षासँगै हिउँ पनि परिरहेका कारण एक दर्जन बढी पशु चौपाया मरेको छ ।

हुम्ला सिमिकोट गाउँपालिका डाडाँफयाका कपिल सुनारले चरीचरनका लागि गुम्बा ल्याएका ४५ वटा भेडाबाख्राहरु पालमाथिको हिउँले च्यापिएर मरेको छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लका अनुसार सो क्षेत्रमा लगातारको बर्षाले स्थानीयलाई घरबाट बाहिर निस्किन र पशुचौपायालाई चरीचरन र घाँसपानी गर्न समेत निकै कठिन भएको छ ।

लगातारको बर्षाले बाटो भत्किंदा गुम्बा र युनाका स्थानीयलाई आवतजावत गर्न पनि निकै समस्या भएको छ । गाउँपालिकाको तीन वटै वडामा हिमपात बाक्लो भएकाले विद्यालय पुर्ण रुपमा बन्द भएका छन् ।

माघ पहिलो साताबाट सुरु भएको जिल्लामा हिमपातले ग्रामीण सडकसमेत अवरुद्ध बन्दै गएका छन् । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा बाक्लो हिउँ जमेका कारण उक्त क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् ।

मार्तडीबाट कोल्टीमा संचालन हुदै आएका जीप र माल बाहक ट्याक्टर समेत सदरमुकाममा थन्किएका छन् । पोरखे लेकमा पाँच फिट बढी हिउँ जमेका कारण अझै हिउ पग्लन समय लाग्ने भएकाले मार्तडी आउने र कोल्टी जाने यात्रुसमेत हिडेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.