सहिद कृष्ण माविको महायज्ञ भाेलीबाट शुरु

रिपोर्ट नेपाल | 2019 Feb 28 | 06:14 pm 2746

तनहुँ, फागुन १६ : शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आर्थिक संकलका लागि सहिद कृष्ण माविमा शुक्रवारबाट श्रीमद् भागवत् धनधान्याञ्ज विराट शैक्षिक ज्ञान महायज्ञ हुदै छ । महायज्ञको सबै तयारी पुरा भएको सचिवालय संयोजक राजन रिमालले जानकारी दिए ।

महायज्ञको पूर्व मन्त्री एवम् गण्डकी प्रदेशका सांसद आशा कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । तनहुँको शुक्लागण्डकी–३ कवासेमा अवस्थित सो विद्यालय सहिद कृष्ण प्रसाद पौडेलको सम्झनामा वि.स. २०५१ सालमा स्थापना भएको हो । महायज्ञलाई लक्षित गर्दै विद्यालय वरपर सजाइएको छ । विभिन्न स्थानमा स्वागतद्धार निर्माण गरिएको छ ।

संकलित रकम समयसापेक्ष प्राविधिक शिक्षा, अन्तराष्ट्रिय भाषा शिक्षणको कक्षा सञ्चालन र भौतिक गुणस्तर वृद्धिमा खर्चिने विद्यालयका प्रधानाध्यापक भुला प्रसाद भण्डारीले जानकारी दिए । उनले महायज्ञपछि कक्षा १२ सम्म अध्यापन गरिने जानकारी दिए ।

मुल संयोजक एवम् वडाध्यक्ष राम कुमार श्रेष्ठले यस विद्यालयको स्तरन्नोतिमा सहयोग गर्न आग्रह गरे । भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा हुने महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान समावेश गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

महायज्ञ पूर्व विहान कलश यात्रा निकालिने विद्यालयले जनाएको छ । शुनपा–२ गाछेपानीमा रहेको मुक्तिनाथ च्यवनधाममा सहभागि भई यात्रा शुरु हुने कलश झाकी तथा पूजा व्यवस्थापन उप समिति संयोजक ऋतु भुवाईले जानकारी दिए । महायज्ञमा ५ देखि ७ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ ।

यसैबिच विभिन्न समुदायका प्रतिनिधीबीच बिहिवार आयोजित अन्तरक्रियामा महायज्ञ सफल पार्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले आफ्नै घरआगनमा हुन लागेको महायज्ञमा सक्दो सहयोग गर्ने वचन दिए । दुलेगौंडा गणपते गुरुङ समाजकी अध्यक्ष रामकुमारी गुरुङ, दुलेगौंडा आदर्श समाजका अध्यक्ष पदम बहादुर बानीया, अरिदेव नेवा पुचः सेवा कोषका अध्यक्ष आनन्द सुन्दर श्रेष्ठ, नेपाली समाजका पूर्व अध्यक्ष देव बहादुर नेपाली लगायतले महायज्ञपछि विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्ने बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.