सुकेटारमा भारी वर्षा र कुहिरो , शव ल्‍याउन समस्या

| 2019 Feb 28 | 09:04 am 1748

काठमाडौं, फागुन १६ : ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याएको छ। सुकेटार आसपासका क्षेत्रमा भारी वर्षा र कुहिरो लागेकोले उडान हुन सकेको छैन। खराब मौसमका कारण उडान हुननसक्‍दा सुकेटारबाट शब काठमाण्डौ ल्याउन समस्या भइरहेको छ।

नेपाली सेनाको हेलिकोप्टरले बिहान बाँकी रहेका तीनवटा शव सुकेटार विमानस्थल ल्याएको हो । चारवटा शव भने नेपाली सेनाको हेलिकोप्टरले बुधबार नै ल्याएको थियो ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चारवटा शव सुकेटार ल्याएको थियो । त्यसपछि वर्षा र हिउँका कारण प्रयास असफल भएको थियो। बाँकी तीनवटा शव पनि बिहान त्यसैगरी ल्याइएको थियो । अहिले सुकेटार विमानस्थल क्षेत्रको मौसम खराब भएकाले शव काठमाडौं ल्याउन सकिएको छैन । नेपाली सेनाका हेलिकोप्टरबाट शव काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

बुधबार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किएको एक मिनेटमै हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभयाको मृत्यु भएको छ ।

तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।

आज संसदमा शोक प्रस्ताव पारित गरिँदै 

प्रतिनिधि सभाको बैठक केही बेरमा बस्‍ने भएको छ। बैठकमा मन्त्री अधिकारीसहित भएको दुर्घटनामा ज्यान गुमाएका सातै जनाको निधनले राष्ट्र शोकमा डुबेकोले शोक प्रस्ताव गरिँदै छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.