काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। बुधबार दिउँसो ताप्लेजुङको मुइममा डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको हो।

मन्त्री अधिकारी दुर्घटना हुनु पहिले तेह्रथुमको चुहानडाँडामा एक कार्यक्रममा सहभागी भएका थिए। तेह्रथुमको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मन्त्री अधिकारीले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारीले कार्यक्रमलाई सम्बोधन त गरे नै निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरे। उनले १२/१४ मिनेटजति कार्यक्रमलाई सम्बोधन गरे। खाना त्यहीँ खाए र पाथिभरा मन्दिर दर्शनका लागि उडे।

उनले सधैं झैं हँसिलो अनुहार लिएर कार्यक्रममा सहभागी भएको र स्थानीय जनताबाट सम्मान ग्रहण गरेको तस्वीरमा देखिन्छ। यो मुस्कान नै उनको सार्वजनिक मुस्कान बन्न पुग्यो ।

