ट्रम्प र किमबीच वार्ता सुरु, ट्रम्प भन्छन्-‘किम महान नेता’

| 2019 Feb 27 | 06:20 pm 2099

हनोई, फागुन १५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता भियतनाममा शुरू भएको छ। राजधानी हनोईमा भएको भेटमा दुवै नेताले दुई देशका झण्डा अगाडि उभिएर हात मिलाउँदै फोटो सेसन गराए।

फोटो खिचाउँदै ट्रम्पले वार्ता सफल हुनेमा आशावादी रहेको धारणा राखेका थिए। त्यसको जवाफमा किमले भने, ‘हामी अनेकौं अवरोध पार गरेर आएका छौं। त्यसैले यहाँ छौं।’ ‘अध्यक्ष किमसँग यहाँ हुनु र भियतनाममा सँगै हुनु गर्विलो क्षण हो’, प्रतिउत्तरमा ट्रम्पले भनेका थिए।

दुई नेताहरुबीच शान्तिका लागि घोषणपत्रमा हस्ताक्षर हुने र अमेरिकाले नाकाबन्दी आंशिक रुपमा हटाउने लगायतका विषयमा सम्झौता हुन सक्नेछ । बिहीबार दिनभरी नै नेताहरु व्यस्त हुने जनाइएको छ ।

विहीबार पत्रकार सम्मेलन, सहमतिमा हस्ताक्षर जस्ता गतिविधि हुनेछन् । विभिन्न सञ्चारमाध्यमहरुले दुई नेताको भेटको प्रत्यक्ष प्रशारण गरिरहेका छन् । भेटमा ट्रम्पले उत्तर कोरियाको आर्थिक उन्नतिको अथाह सम्भावना भएको बताएका छन् भने उत्तर कोरियाली नेता किमले आपसी समस्या समाधानका लागि आफूहरु भियतनाममा भेला भएको बताएका छन् । ट्रम्पले किमलाई महान नेता भन्दै प्रशंसासमेत गरेका छन् ।

समाचार एजेन्सीहरूले जनाए अनुसार दोस्रो शिखर वार्ताको पहिलो भेट डिनर भेट हुनेछ। दुवै नेता २० मिनेटसम्म वन टु वन बैठकमा रहने छन्।

सन् १९५० को दशकदेखि दुई ध्रुवमा उभिएका यी दुवै देशका नेताले हात मिलाएको यो दोस्रो पटक हो। यसअघि गत वर्षको जुनमा यी दुई नेताबीच सिंगापुरमा पहिलोपटक शिखर वार्ता भएको थियो।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.